बालक अपहरणको अनुसन्धान गर्ने डिएसपी थापा सहित ४ प्रहरी सम्मानीत

5923
बालक अपहरणको अनुसन्धान गर्ने डिएसपी थापा सहित ४ प्रहरी सम्मानीत

अर्जुन सापकोटा नवलपरासी, साउन ९ । 
नवलपरासीको देवचुली नगरपालिकामा ७ बर्षीय बालक अपहरणको असफल प्रयास गर्नेहरुलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई सम्मान गरिएको छ ।  आईतबार दलदलेमा उद्योग बाणिज्य संघ देवचुली नगरपालिकाले अनुसन्धानमा आबद्ध रहेका ईलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख प्रहरी नायव निरिक्षक राजेश थापा सहित ४ जना प्रहरीलाई नागरिक स्तरबाट सम्मान गरिएको हो । 
 
सम्मानीत हुनेमा अनुसन्धान अधिकृत प्रकाश सिखंडा, प्रहरी जवान धन बहादुर कंडेल र बिष्णु घर्ती रहेका छन् । फागुन २७ गते बालक अपहरणको प्रयास गरिएको थियो भने अपहरणकारीले बालकको बाबु बिष्णु प्रसाद सापकोटा सँग १ करोड रुपैयाँ फिरौती रकम मागेका थिए । बालक अपहरणको असफल प्रयास गर्ने ४ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याएको भन्दै खुसी व्यक्त गर्दै सम्मान गरिएको हो । प्रहरीले गरेको अनुसन्धानले नेपाल प्रहरीप्रति जनताको विश्वास बढेको र काम गर्नेहरुको मनोबल उच्च राख्न सम्मान गरिएको बाणिज्य सघंका अध्यक्ष धर्म बस्यालले बताए ।
 
सम्मानीत प्रहरीलाई सम्मान पत्र र खादा प्रदान गर्दै देवचुली नगरपालिका कार्यकारी अधिकृत हरि प्रसाद चापागाईले शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा यस्ता सम्मानहरुले निकै ठूलो भूमिका निर्वाह गर्ने बताए । ईलाका प्रहरी कार्यालयका प्रमुख राजेश थापाले नेपाल प्रहरीमा अनुसन्धानको लागि नयाँ प्रविधि आवश्यक रहेको खाँचो औल्याउर्दै सबैको हातेमालोले अनुसन्धानमा सहयोग पूगेको बताए । 
 
यस्तै बोल्ने अन्य बक्ताहरुले आफूहरुलाई अहिलेको अनुसन्धानले देशमा शान्ति सुरक्षा पनि छ भन्ने लागेको प्रतिक्रिया दिएका थिए । प्रहरीले पटक पटकको प्रयासपछि ४ जनालाई नियन्त्रणमा लिइ कारवाहीको दायरामा ल्याएको छ भने अन्य केहि अझै फरार रहेका छन् । विश्व ज्योतीमा अध्ययन गर्ने बालकको विद्यालय हाता भित्रैबाट अपहरणको प्रयास गरिएको थियो । विद्यालयका सुरक्षा गार्ड र स्थानीयको सहयोगको कारण बालक अपहरणको प्रयासबाट मुक्त भएका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत