नवलपुरमा श्रृखलाबद्ध बाघ आक्रमण : दुम्किवासमा बाघले महिला खायो

8000
नवलपुरमा श्रृखलाबद्ध बाघ आक्रमण  : दुम्किवासमा बाघले महिला खायो

अर्जुन सापकोटा, २०७३ मंसिर १० । 
नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । शुक्रबार विहान घाँस दाउरा गर्न दुम्किवास वडा नम्बर ७ मा रहेको बगु वनमा गएको समयमा बाघले आक्रमण गरेको हो । 
 
बाघको आक्रमणबाट सोही ठाउँकी ६१ बर्षिय आस्मती मसानी मगरको मृत्यु भएको नयाँ बेलहानी प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरी चौकीका प्रहरी निरिक्षक युवराज तिमिल्सेनाका अनुसार दिउसो १ बजे शरीरको विभिन्न स्थानमा चोट रहेको अवस्थामा शव फेला परेको हो । उनले भने, बाघ वा जंगली जनावरको आक्रमणबाट उनको मृत्यु भएको हुन सक्छ । 
 
घाँस दाउरा गरेर महिला घर नफर्किएपछि प्रहरीले उनको खोजी गरेको थियो । शव पोस्टमार्टमको लागि चोरमारा प्राथमिक स्वास्थ्य चौकी ल्याईएको छ । पोस्टमार्टमपछि उनको अन्तिम दाहासंस्कार गरिनेछ ।
 
१ महिनामा ३ जनाको मृत्यु
नवलपरासीको नवलपुर क्षेत्रमा १ महिना यता बाघको आतंक जारी रहेको छ । १ महिनाको अन्तरालमा ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । लोकाहामा परुष, अम्रसामा महिला र दम्किवासमा महिलाको ज्यान गएको हो । 
 
अहिले नवलपुरमा रहेका जंगल आसपासका स्थानीय आतंकीत बनेका छन् । बाघले दिउसै मान्छे खान थालेपछि स्थानीय त्रसित बनेको हातिखोरका राम बहादुर विले बताए । बाघले घरपालुवा जनावर खान थालेपछि वनमा जान समेत स्थानीय छाडेका छन् । दुम्किवासका स्थानीय टिकाराम गैरेले भने, बाघको आक्रमणपछि निकै त्रसित बनेका छन् । 
 
बाघ नियन्त्रणमा चाँसो छैन निकुञ्ज र सरोकारवालाको  
जिल्लामा बाघले दिउसै मानिस खान थालेपनि यसको नियन्त्रण गर्ने निकाय भने मौन रहेको छ । निकुञ्ज प्रशासन लगायत यहाँको प्रशासनसँग समेत यसबारे पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको स्थानीयको भनाईछ ।  अम्रसाका रामहरी नेपालीले भने, हामीले सबै स्थानमा जानकारी गराएका छौँ तर नियन्त्रणको प्रयास भने अहिले सम्म हुन सकेको छैन् । 
 
नवलपुर क्षेत्रमा बाघले किन आक्रमण गरिरहेको छ भन्नेबारेमा समेत अध्ययन अनुसन्धान हुन सकेको छैन् । स्थानीयले तत्काल बाघलाई नियन्त्रणमा लिई जनजीवन सामान्य बनाउन माग गरेका छन् । यहाँको सामुदायिक वन तथा मध्यवर्ती वनमा पछिल्लो समय बाघको संख्यामा भारी बृद्धि भएको जानकारहरुको भनाई छ । 

SHARE

COMMENTS

(Nov 25 2016 4:44:57:340PM)
जानकारी को लागि धन्यवाद १ महिना मा ३ जनाको आक्रमण भयो भनेर नेपाल प्रहरी ले खबर मात्र गर्ने हो कि यसरी हो भने १ वर्ष मा ३६ पुगने होला तेस्को नियन्त्रण कहिले गर्ने

यसमा तपाइको मत