अलविदा वरिष्ठ संगीतकार गुरुङ : राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

298
अलविदा वरिष्ठ संगीतकार गुरुङ : राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका सञ्चार सल्लाहकार विनोद अधिकारीले जानकारी दिए । उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै उनले भने, ‘उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।’
 
एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए । उनको अवस्था गम्भीर भएसँगै गत सोमबारदेखि ग्रण्डीमा उपचाररत थिए  भने केहि दिनयता उनलाई भेन्टिलेटरमा सारिएको थियो । राष्ट्रिय गानका समेत संगीतकार उनको १९९४ मा भारतको दार्जलिङमा जन्म भएको थियो ।
 
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका छन् । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए ।
 
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
 
संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्तावमा प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सम्मान दिन लागिएको हो ।
 
मन्त्री पोखरेलका अनुसार गुरुङलाई थप के के सम्मान दिने भन्ने बारे भने भोलि बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ ।
 
उनले भने, ुउहाँको योगदानको कदरस्वरुप हामीले राष्ट्रिय सम्मान दिने निर्णय गरेका छौं । यसको लागि गृह मन्त्रालयलाई आदेश दिइसकिएको छ ।
 
मन्त्री पोखरेलका अनुसार नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने छ ।
 
गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अहिले उनको शवलाई प्रज्ञा भवन कमलादीमा श्रद्धान्जलीको लागि राखिएको छ । उनको आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिने छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत