ओलीलाई देउवाको प्रश्न झुटको खेती कहिले सम्म चल्छ ?

सरकार ढाल्न कागे्रसको दैलो चहार्छन सत्तारुढ दलहरु

181
ओलीलाई देउवाको प्रश्न झुटको खेती कहिले सम्म चल्छ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जे पायो त्यही बोलेको र जनतालाई झुक्याएको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘अहिले केपी ओली अन्ट सन्ट बोलिरहेका छन्, कहिले जनताको घर घरमा ग्यासको पाइप पुर्‍याउने, कहिले रेल कुदाउने त कहिले पानी जहाज चलाउने भन्छन् । काम नगर्ने, जनतालाई कहिलेसम्म झुक्याउने ’
 
प्रधानमन्त्रीले तत्काल पूरा गर्न नसकिने कुराहरु बोल्दै जनतालाई झुक्याउने गरेको उनले आरोप लगाए ।
 
प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल एक बर्ष भित्र बनाउँछु भनी गरेको घोषणा व्यवहारिक रुपमा कठिनाई भएको देउवाले दाबी गरे । ‘लुम्बिनीमा ५ हजार हैन ५ सय मानिस अट्ने सभाहल बनाएर देखाउन चुनौती दिन्छु’ उनले भने ।
 
कांग्रेस सभापति देउवाले जनतालाई झुक्याउने झुठा आश्वासन दिएर समय खेर नफाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । देउवाले विपक्षी दल कांग्रेस वैकल्पिक सरकार भएको बताए । देउवाले नयाँ संविधान समावेशी, प्रजातान्त्रिक चएको तर, कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
 
असन्तुष्टिका विषयलाई संविधान संशोधनमार्फत् समस्या समाधान गर्न सकिने उनले बताए । उनले भने, ‘संविधान जारी भएपछि संशोधन भइसक्यो र जनताको आवश्यकता, भावनाअनुसार भोलि पनि संशोधन हुनसक्छ ।’
 
पछिल्लोपटक भएको सरकार परिवर्तनको खेलप्रति संकेत गर्दै उनले सरकारमै रहेको घटक सरकार ढाल्नुपर्छ भन्दै आफू कहाँ आएको जिकिर गरे । ‘सरकारमा बसेको दल सरकार ढलाउनु पर्‍यो भन्दै आए, प्रतिपक्षले जोगाउनु पर्छ भन्ने कुरा भएन,’ उनले भने विपक्षीको नाताले हुन्छ अगाडि बढ्नुस् भनेको मात्र हुँ ।
 
सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रचण्ड आफैं सरकार परिवर्तन गर्न पर्‍यो भन्दै आएको र पछि कांग्रेसलाई धोका दिएको बताए । कम्युनिष्ट पार्टीहरु सत्तामा जान र सत्ता टिकाउनलाई मात्र राष्ट्रिय मुद्दा बोकेर हिँड्ने गरेको भन्दै कम्युनिष्ट पार्टीहरु कहिले पनि राष्ट्रवादी हुन नसक्ने बताए ।
 
अर्का केन्द्रीय सदस्य गगन थापाले संविधान कार्यान्वयनमा चुनौती रहेको औल्याउँदै चुनौतीलाई आत्मसाथ गर्दै सविधान कार्यान्वयनमा जानुपर्ने बताए । मधेसका समस्या सम्बोधन गर्ने र सबैको भावना समेटेर अगाडि बढ्ने दायित्व कांग्रेसको काँधमा रहेको भन्दै उनले नेतृत्वले सबैका भावना समेटेर अगाडि बढ्न प्रयत्न गर्नुपर्ने बताए ।

SHARE

COMMENTS

यसमा तपाइको मत