पशुपालनको लागि किसानहरु साईलेज तर्फ आर्कर्षित

2751
पशुपालनको लागि किसानहरु साईलेज तर्फ आर्कर्षित
घाँसको साईलेज खुवाउँदै गरेका डण्डाका किसान

अर्जुन सापकोटा, कावासोती, भदौं २१
नवलपरासी जिल्लाका पशुपालक किसानहरुले साईलेजको प्रयोग गर्न थालेका छन् । घाँस बढी भएको समयमा घाँसलाई सिन्की(साईलेज) बनाउँने र हिउँदमा त्यसको प्रयोग गर्ने गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले आफू मातहतका सेवा केन्द्र मार्फत साइलेज बनाउने तालिमहरु संचालन गरेपछि किसानहरु यस तर्फ आर्कर्षित भएका हुन् ।
 
मकैको डाठ वा उन्नत जातको डाठजन्य घाँसलाई टुक्रापारेर पलाष्टिक तथा सिमेन्ट गरेरे बनाईएको खाल्डोमा राख्ने र त्यसलाई पुरेपछि ३ महिनाको अवधिमा साईलेज तयार हुने गदर्छ । पराल भन्दा साईलेजको प्रयोगले राम्रो प्रतिफल प्राप्त भएको किसानहरुको भनाई छ । हिउँदमा घाँस समेत प्रसस्त मात्रामा नपाउँने हुदा परालको विकल्पको रुपमा लिने गरिएको छ । कावासोती डण्डाका गाईपालक किसान कलाखर आचार्यले साईलेज खुवाउँदा पशुहरुको दूध उत्पादनमा बृद्धि भएको पराल तथा दाना चापट समेत थोरै खुवाउँदा लागत घटेको बताए । 
 
उनले भने, मैले ७ कठ्ठा जमिनमा लागाएको उन्नतजातको घाँसलाई  काटेर साईलेज तयार गरेको हुँ, अहिले पशुहरुलाई साईलेज नै  खुवाउँदै छु, शुरुमा खासै गाईहरुले नरुचाएपनि विस्तारै राम्रै तवरले खान थालेको बताए । विगत २ बर्षदेखि पशु सेवा कार्यालयले विभिन्न स्थानमा साईलेज बनाउने प्रविधिबारे किसानहरुलाई जानकारी गराउँदै आएको छ । अहिले नवलपुर क्षेत्रका विभिन्न व्यवसायिक गाईफर्महरुले साईलेज बनाउने गरेका छन् । 
 
पशु सेवा कार्यालय अग्यौलीका पशु स्वास्थ्य प्राविधिक बद्री पौडेलका अनुसार अहिले यस क्षेत्रमा किसानहरु पराल र अन्य दानाचापट भन्दा साईलेज प्रविधि तर्फ आर्कर्षित भएका छन् । उनले भने, यो अहिले नमूनाको रुपमा विकास गरेका छौं, प्रतिफल राम्रो आएको छ, अब आगामी बर्षमा साईलेजमा अनुदान दिने कुरा छ ।
 
उनले थपे, हरेक घरमा परालको टौवाहरु जस्तै केही बर्षभित्रमा रहेक घरहरुमा साईलेज बनाउन खाल्टाहरु हुनेछन् । जिल्लामा पशु पालन र व्यवसायिक घाँस खेतीको विकास भएसँगै किसानहरु यसरी साईलेज तर्फ आर्कर्षित भएका हुन् । बर्षायाममा बढी भएको घाँसलाई पौष्टिकता समेत बचाँएर राख्न यो प्रबिधि अपनाउने गरिएको छ ।
 
जिल्लाको कावासोती, देवचुली, रजहर, गैंडाकोट लगाएतको क्षेत्रमा प्रसस्तै किसानहरुले साईलेज मार्फत घाँसको माग पूरा गर्ने गरेका छन् । दैनिक रुपमा गाईको उम्मेर हेरी १० देखि २० केजी सम्म खुवाउन सकिने पशु प्राविधिक बुद्धि बहादुर देउजाको भनाई छ । व्यवसायिक पशुपालनको लागि अन्य राष्ट्रहरुमा निरविकल्प मानिन्छ साईलेज । नेपालमा अझैपनि साईलेजको प्रयोग गरी पशुपालन हुन सकेको छैन् । जिल्ला पशु सेवा कार्यालयका पूर्व कार्यालय प्रमुख शंकर शाहले साईलेजको महत्व बुझ्न नसक्दा घाँस खेर गईरहेको बताए । 
 
उनले भने, साईलेज व्यवसायिक पशुपालन र उत्पादन बढाउनको लागि निरविकल्प नै हो, यसले पशुहरुमा रोगहरु नियन्त्रण हुने, दूध बढी दिने, बाँझोपन घट्ने जस्ता समस्याहरु समाधान हुन्छन् । नेपालमा हिउँदमा मात्र पराल र चापटको भर हो, जस्ले गर्दा उत्पादन राम्रो हुन सकेको छैन् उनले भने । 

SHARE

COMMENTS

यसमा तपाइको मत