तीब्र आर्थिक वृद्धिका लागि सरकार महत्वकांक्षी : ओली

176
तीब्र आर्थिक वृद्धिका लागि सरकार महत्वकांक्षी : ओली

 जेठ २ काठमाण्डौ 

प्रधानमन्त्री केपी शर्मा ओलीले तीब्र आर्थिक विकासका लागि सरकार महत्वकांक्षी भएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई आइबार राजधानीमा सम्बोधन गर्दै ओलीले महत्वकांक्षा बिना मुलुकको समृद्धि नहुने बताए ।

 
‘कतिपयले सरकारलाई महत्वकांक्षी भयो भनिरहेका छन्,’ उनले भने, ‘हो हामी महत्वकांक्षी छौं, भएका पनि हौं, राष्ट्रिय स्वार्थका लागि महत्वकांक्षा हुनुपर्छ ।’ सरकारले बनाइरहेको चौधौं आवधिक योजनाको छलफल गर्न आयोजित बैठकमा उनले एकदमै छिटो ठूलो उपलब्धि हासिल गर्न सरकारले महत्वकांक्षी योजना अघि सारेको दाबी गरे ।
 
विपक्षीले नीति तथा कार्यक्रम महत्वकांक्षी भएको भनी आलोचना गरको तर्फ संकेत गर्दै उनले भने, ‘महत्वकांक्षा नै नभए राष्ट्रिय स्वार्थको उद्देश्य कसरी पुरा हुन्छरु’ ओलीले समृद्ध नेपाल निर्माणका लागि मान्छे–मान्छेमा, टोल–टोलमा र समुदाय–समुदायमा रोजगारीको प्रत्याभूति हुनुपर्ने बताए । अहिलेको सरकारले सुस्त खालको विकास गर्न नचाहेको दाबी गर्दै उनले तीब्रतर विकासमा सरकर लाग्ने दाबी गरे ।
 
संविधान निर्माणपश्चात राजनीतिक समस्या समाधान भएको दोहोर्‍याउँदै उनले सरकारले ‘समाजवाद उन्मुख, लोककल्याणकारी र सुशासनयुक्त नेपाल’ निर्माण गर्ने योजना अघि बढाउने बताए ।
 
सरकारले बनाइरहेको चौधौं योजनाले जनतालाई रोजगारी र आत्मनिर्भरताको प्रत्याभूति गर्ने बताउँदै ओलीले व्यापार असन्तुलनलाई कम गर्ने रणनीति लिइने जानकारी दिए ।
 
गत वर्षको भूकम्प र सीमा अवरोधले अपेक्षित आर्थिक उपलब्धी हासिल नभए पनि आगामी आर्थिक वर्षदेखि आर्थिक विकासले गति लिने उनले बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च र दिगो आर्थिक वृद्धिका लागि नयाँ योजनामा कार्यक्रमहरु राखिने जानकारी दिए । ‘आर्थिक समृद्धिका लागि सरकारी, सहकारी र निजी क्षेत्र मिलेर जाने खालका कार्यक्रम राखिनेछन्,’ उनले भने, ‘यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहनेछ ।’
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले नयाँ योजनाले ग्रामीण र सहरी क्षेत्रलाई उत्पादन र खपतका आधारमा जोड्ने बताए । उनले यो योजनामा पुनर्निर्माणले प्राथमिकता पाएको जानकारी दिए । आइतबार र सोमबार चल्ने परिषद्को बैठकले नयाँ योजनाको खाका कोर्नेछ । बैठकमा सबै मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत