केरुगे खोलाको कटान, स्थानीय भन्छन् “खोला कावासोती पस्न सक्छ”

8668
केरुगे खोलाको कटान, स्थानीय भन्छन् “खोला कावासोती पस्न सक्छ”

धनु भुसाल कावासोती, साउन १०  
वर्षा सुरुभए संगै जिल्लाका विभिन्न खोलाहरुमा आएको बाढिले कटान शुरु गरेको छ । कावासोतीमा रहेको केरुगे खोलामा आएको बाढिले खोलाको धार परिवर्तन गरि कटान गरेपछि नदी आसपासका स्थानीय त्रसित बनेका छन् । कावासोती ५ मा रहेको सिंह निवास सामुदायिक वन क्षेत्रमा समेत खोलाले कटान शुरु गरिसकेको छ । सोमवार विहान मात्रै खोलाले एक सय मिटर क्षेत्र कटान गरिसकेको स्थानियले बताएका छन् । बाढी बढ्दो क्रममा रहेकाले पुरानो कावासोतीमा खोला पस्न सक्ने वनका अध्यक्ष दुर्गा बहादुर गुरुङले बताए । 
 
हरेक वर्ष खोलाले गर्ने कटानलाई नियन्त्रण गर्नको लागि सामुदायिक वनले वृक्षरोपण गर्दै आएको छ । तर खोलाले धार परिवर्तन गर्दै आएपछि स्थानीय त्रसित भएका छन् । केरुगे खोलामा व्यवस्थित तट्बन्ध हुन नसक्दा हरेक बर्ष ठूलो क्षेत्र बगरमा परिणत हुने गरेको छ भने यहाँका बस्तीहरु समेत जोखिममा रहेका छन् ।
 
सोमबार स्काभेटरको प्रयोगबाट खोलाको धार परिर्वतन गर्ने योजना स्थानीयले बनाएपछि कावासोती नगरपालिका संग डोजर चालक नहुदा काम हुन नसकेको स्थानीयले जानकारी दिए । बन्दको कारण डोजर समेत पाउन सकिएन, मंगलबार खोलाको धार परिर्वतन गर्ने हो स्थानीय रामकृष्ण रानाले भने । 
प्रत्येक वर्षको कटानले गर्दा अहिले सम्म वनको करिव ३ हेक्टर क्षेत्रफल बगर बनेको अध्यक्ष गुरुङले बताए । खोला अस्वाभाविक रुपमा बढ्दै गएको हुदा त्यसलाई धारपरिवर्तन गराउन स्थानीयहरुले माग गरेका छन् ।
 
करेङ्गे खोलामा आउने बाढिले कावासोती क्षेत्रलाई नै असर गर्ने हुदा कटानलाई रोक्न र धार परिवर्तन गर्न माग गरेका हुन । पहाडी क्षेत्रमा अविरल वर्षा हुदा जिल्लाका विभिन्न खोलाहरुमा बाढि आउने क्रम बढ्दै गएको छ भने खोलाले सधै धार परिवर्तन गरेर बग्दा खोला आसपासका क्षेत्रमा कटान पनि बढ्दै गएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत