नवलपरासीमा चनावी सरगम बढ्दै ,अधिकांश उमेदवार पुरानै अनुहार

158
नवलपरासीमा चनावी सरगम बढ्दै ,अधिकांश उमेदवार पुरानै अनुहार

आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनको समय नजिकिँदै जाँदा दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि यो क्षेत्र चर्चामा छ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको नवलपुर क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । कलवार २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा्चित सांसदसमेत हुनुहुन्छ ।

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत